
काठमाडौं । नेपाल तामाङ कलाकार संघको १९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौंमा सम्पन्न भएको छ।
राष्ट्रिय गानका रचनाकार व्याकुल माइला (प्रदीपकुमार राई) को प्रमुख आतिथ्यतामा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको पारिजात हलमा साधारण सभा सम्पन्न भएको हो।
संघका अध्यक्ष विशाल काल्तानको अध्यक्षतामा सम्पन्न सभामा तामाङ कला, संगीत तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको संस्थागत विकासका विषयमा छलफल भएको थियो।
कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन र वरिष्ठ गायक तथा संगीतकार सुरेश अधिकारी विशेष अतिथिका रूपमा सहभागी थिए। वरिष्ठ गायक चन्द्रकुमार मोक्तान, चन्द्रकुमार दोङलगायत कलाकार तथा स्रष्टाहरूको पनि उपस्थिति थियो।
सभामा संघका सल्लाहकारहरू रोज मोक्तान, जमुना योञ्जन, इन्दिरा योञ्जन, सञ्जीव वाइवा र विश्व दोङ सहभागी थिए। त्यस्तै तामाङ चलचित्रकी नायिका चाँदनी मोक्तान, कलाकार सानु वाइवा, नेपाल तामाङ घेदुङका उपमहासचिव विलम मोक्तान, तामाङ संघ नेपालका अध्यक्ष दावा वाङ्गेल मोक्तान, तामाङ चलचित्र संघका उपाध्यक्ष उत्तर लामा, म्हेन्दोमाया कलाकार संघका महासचिव शिशिर तामाङ तथा तामाङ ढजाङका अध्यक्ष फूलकुमार बम्जनलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।
कार्यक्रमको सुरुवात डम्फू बजाउँदै राष्ट्रिय गानबाट गरिएको थियो। संघका सचिव योगेश लामाले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन संघका महासचिव खेम मोक्तानले गरेका थिए।
साधारण सभामा संघले विगतमा सञ्चालन गरेका गतिविधि, संस्थागत प्रगति तथा आगामी कार्यक्रमका विषयमा छलफल गरिएको थियो। तामाङ मौलिक गीत–संगीत, चलचित्र, नृत्य तथा सांस्कृतिक पहिचानको संरक्षणसँगै नयाँ पुस्ताका कलाकारलाई प्रोत्साहन गर्ने विषयमा पनि सहभागीहरूले धारणा राखेका थिए।
तामाङ समुदायको भाषा, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा कलाकारहरूको भूमिका महत्वपूर्ण हुने भएकाले कलाकारबीचको एकता, सहकार्य र संस्थागत सक्रियतालाई थप प्रभावकारी बनाउनुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
त्यस्तै तामाङ कलाकारले सिर्जना गर्दै आएका मौलिक गीत–संगीत तथा सांस्कृतिक सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन आवश्यक पहल गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो। कलाकारका सिर्जनालाई सम्मान, संरक्षण र प्रोत्साहन गर्ने वातावरण निर्माणका लागि सम्बन्धित संघसंस्था तथा समुदायबीच सहकार्य आवश्यक रहेको सहभागीहरूको भनाइ थियो।
नेपाल तामाङ कलाकार संघले स्थापनाकालदेखि तामाङ कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धनका क्षेत्रमा काम गर्दै आएको जनाएको छ। १९औँ वार्षिक साधारण सभाले संघका आगामी गतिविधिलाई थप व्यवस्थित गर्दै तामाङ कलाकार तथा स्रष्टाको हित र मौलिक कला–संस्कृतिको संरक्षणमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।





