
काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको उक्त समारोहमा प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य, प्रमुख सचिव, सचिवहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।
नवनियुक्त मन्त्री सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको हो।
शपथ ग्रहण पश्चात मन्त्री गौतमले स्वास्थ्य सेवा सुदृढीकरण, जनस्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन र ग्रामीण स्वास्थ्य पूर्वाधार सुधारलाई प्राथमिकता दिने बताएकी छन्। त्यस्तै, मन्त्री गुप्ताले युवाको क्षमताविकास, खेल क्षेत्रको आधुनिकीकरण र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई मन्त्रालयमा नयाँ अनुहारहरू समावेश गरेका थिए।
काठमाडौं । तामाङ चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्देशक कुमार मोक्तान, जसलाई धेरैले मेघा स्टार भनेर चिन्छन्, पछिल्लो समय ‘महानायक’ उपाधिसम्बन्धी विवादबीच पुनः नयाँ गीतमार्फत् दर्शक सामु आएका छन्।

Chetup Lama युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘लखौ तारा’ शीर्षकको यो गीतमा गायक–संगीतकार वीरेन्द्र दोङ र गायिका सुस्मिता मोक्तानको स्वर रहेको छ। गीतमा संगीत संयोजन उर्गेन दोङले गरेका छन् भने, मिक्सिङ/मास्टरिङ दिपेश प्रधानले सम्पादन गरेका छन्।
भिडियोमा अभिनेता तथा निर्देशक कुमार मोक्तान र सीता लामाको आकर्षक अभिनय देख्न सकिन्छ। क्यामेरा तथा सम्पादन सुनिल कुमार मोक्तानले गरेका हुन् भने, कलर ग्रेडिङ मेघ बी. थापाले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन कार्य को म्हेन्दो मिडिया हाउसमार्फत सम्पन्न गरिएको हो।
काभ्रे नला र पनौती आसपासका रमणीय स्थलमा छायांकन गरिएको यस गीतमा भावनात्मक अभिनय र आकर्षक निर्देशन देख्न सकिन्छ। यद्यपि, सामाजिक सञ्जालमा केही दर्शकहरूले भिडियोको क्यामेरा र सम्पादन पक्ष अपेक्षाअनुसार बलियो नदेखिएको प्रतिक्रिया दिएका छन्।

दशकौँदेखि तामाङ चलचित्र क्षेत्रमा निरन्तर योगदान दिँदै आएका कुमार मोक्तान प्रतिभाशाली कलाकारका रूपमा स्थापित छन्। तर, दर्शकहरूका अनुसार यो प्रस्तुति उनका अघिल्ला उत्कृष्ट कामहरूसँग तुलना गर्दा केही कमजोर देखिएको छ।
कतिपयले मेघा स्टार मोक्तानले अब आफ्नो टिम र मेकर चयनमा अझ ध्यान दिनुपर्ने सुझाव दिएका छन्। तर, निर्देशक मोक्तानले यसलाई एउटा सृजनात्मक प्रयासको रूपमा लिएको बताइएको छ र आगामी प्रोजेक्टमा अझ उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाएका छन्।
काठमाडौं । व्यापारी तथा समाजसेवी दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर आन्दोलनमा उतार्न सक्ने आशंकाबारे सुरक्षा निकायले सरकारलाई विस्तृत ब्रिफिङ गरेको छ। प्राप्त सूचनाअनुसार प्रसाईं समूहले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा असन्तुष्ट समूहहरूलाई आर्थिक प्रलोभन देखाउँदै राजनीतिक आन्दोलनमा सहभागी गराउने प्रयास गरिरहेको बताइएको छ।
गृह मन्त्रालयमा हालै सम्पन्न उच्चस्तरीय बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले प्रसाईंको गतिविधि र सम्भावित जोखिमबारे विस्तृत रिपोर्ट पेश गरेका थिए। रिपोर्टमा प्रसाईं पक्षले “भाडाका भीड” परिचालन गरेर अस्थिरता सिर्जना गर्न खोज्ने सम्भावना औंल्याइएको छ।
प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको ब्रिफिङमा सुरक्षा निकायले हालका प्रसाईंका अभिव्यक्ति र गतिविधिहरूलाई “राजनीतिक उद्देश्यले प्रेरित र व्यवस्थाविरुद्ध आक्रोश फैलाउने प्रकृतिका” भएको उल्लेख गरेका छन्।
सुरक्षा निकायले प्रसाईं समूहका आर्थिक स्रोत, आवागमन, र संचार सञ्जालमा निगरानी बढाएको जनाएको छ। यसैबीच, गृह मन्त्रालयले मुलुकको वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाउने निर्देशन जारी गरेको छ।





