



— पछिल्लो समय आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा नेपाल तरुण दल सक्रिय रूपमा खटिएको छ।
बाढीका कारण विभिन्न स्थानमा अलपत्र परेका नागरिकहरूको खोज तथा उद्धारसँगै आवश्यक राहत सामग्री उपलब्ध गराउने कार्यमा नेपाल तरुण दल निरन्तर जुट्दै आएको हो। विपद्को कठिन अवस्थामा पीडित नागरिकलाई तत्काल सहयोग पुर्याउने उद्देश्यले तरुण दलका नेता तथा कार्यकर्ताहरू जोखिम मोलेरै उद्धार तथा राहत कार्यमा सक्रिय छन्।
यसैक्रममा नेपाल तरुण दल सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष सञ्जय लामा, लमजुङका जिल्ला अध्यक्ष कुम्बासी गुरुङ, सोलुखुम्बुका जिल्ला अध्यक्ष अशोक झा, जिल्ला अध्यक्ष दिल तामाङ लगायत विभिन्न जिल्लाका अध्यक्ष तथा तरुण दलका प्रतिनिधिहरूको समन्वयमा बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।
बाढीका कारण घर तथा बस्तीमा अलपत्र परेका नागरिकका घरायसी तथा महत्वपूर्ण सामानहरू सुरक्षित स्थानमा सार्ने कार्यमा समेत तरुण दलका स्वयंसेवकहरू खटिरहेका छन्।
विपद्को समयमा पीडित नागरिकलाई एक्लो महसुस हुन नदिने उद्देश्यका साथ उद्धार, राहत र मानवीय सेवाका कार्यलाई अझ प्रभावकारी रूपमा अघि बढाइने नेपाल तरुण दलका प्रतिनिधिहरूले बताएका छन्।
“विपद्मा नागरिकको साथमा उभिनु नै हाम्रो पहिलो जिम्मेवारी हो” भन्ने भावनाका साथ तरुण दलका कार्यकर्ताहरू प्रभावित क्षेत्रमा निरन्तर सेवामा जुटिरहेका छन्।











