
रसुवा, भदौ १० । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान तिब्बततर्फबाट अचानक ठूलो बाढी आएपछि टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बिहान करिब ९ बजेतिर एक्कासि आएको बाढीले टिमुरे बजार क्षेत्रका बस्ती तथा भौतिक संरचनामा क्षति पुर्याएको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीले बजार, भन्सार क्षेत्र तथा आसपास रहेका संरचना र सवारीसाधनसमेत बगाएको बताइएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार टिमुरेस्थित इलाका प्रहरी कार्यालय, स्याफ्रुबेँसी प्रहरी चौकी र रसुवागढी प्रहरी चौकीमा समेत ठूलो क्षति पुगेको छ। प्रहरी कर्मचारीहरूको अवस्थाबारे पनि विवरण संकलन भइरहेको छ।
बाढीका कारण एउटा जलविद्युत् आयोजना बगेको तथा चिलिमेलगायत अन्य जलविद्युत् आयोजनामा समेत क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ।
यसैबीच बाढीको प्रभाव नुवाकोटसम्म पुगेको छ। त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा पानीको सतह बढ्न सक्ने भन्दै रसुवा, नुवाकोट, धादिङलगायत नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी तिब्बततर्फबाट आएको प्रारम्भिक जानकारी भए पनि यसको वास्तविक कारणबारे आधिकारिक पुष्टि हुन बाँकी छ। क्षतिको विस्तृत विवरण संकलन तथा उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ।
थप विवरण आउँदैछ।





