२०८३ बैशाख ४ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ४ शुक्रबार

भक्तपुर — देशभर पुनः वर्षाको क्रम सुरु हुने मौसमविद्हरूले बताएका छन्। भारतको उत्तर–पूर्व क्षेत्रबाट सर्ने न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट सक्रिय मौसमी प्रणालीको दोहोरो प्रभावका कारण आगामी साताभर देशका अधिकांश भागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार विशेषगरी सुदूरपश्चिम, लुम्बिनी, बागमती र प्रदेश–१ का पहाडी तथा तराई क्षेत्रहरूमा मध्यमदेखि भारी वर्षा हुन सक्छ।
यसैबीच, हालैको अविरल वर्षाबाट पहिरो र बाढीले प्रभावित बनेको इलाम पुनः जोखिममा परेको चेतावनी दिइएको छ। गत पटकको क्षतिग्रस्त क्षेत्रहरूमा माटो कमजोर भएकाले सानो वर्षाले पनि ठूलो क्षति पुर्‍याउने सम्भावना रहेको विज्ञहरूले बताएका छन्।

महाशाखाले जनतासँग सतर्कता अपनाउन, जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासनका निर्देशन पालना गर्न आग्रह गरेको छ।
साथै, सडक तथा यातायात क्षेत्रका निकायहरूलाई सम्भावित अवरोध र सडक कटानका जोखिमबारे सतर्क रहन अनुरोध गरिएको छ।

काठमाडौं । नवनियुक्त मन्त्रीद्वय सुधा गौतम र बब्लु गुप्ताले आज शीतलनिवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउनुभएको उक्त समारोहमा प्रधानमन्त्री, मन्त्रीपरिषद्का सदस्य, प्रमुख सचिव, सचिवहरू तथा उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो।

नवनियुक्त मन्त्री सुधा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने बब्लु गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मा दिइएको हो।

शपथ ग्रहण पश्चात मन्त्री गौतमले स्वास्थ्य सेवा सुदृढीकरण, जनस्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन र ग्रामीण स्वास्थ्य पूर्वाधार सुधारलाई प्राथमिकता दिने बताएकी छन्। त्यस्तै, मन्त्री गुप्ताले युवाको क्षमताविकास, खेल क्षेत्रको आधुनिकीकरण र अन्तर्राष्ट्रिय स्तरमा नेपालको सहभागिता विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।

यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै दुई मन्त्रालयमा नयाँ अनुहारहरू समावेश गरेका थिए।

काठमाडौं । तामाङ चलचित्र क्षेत्रका चर्चित अभिनेता तथा निर्देशक कुमार मोक्तान, जसलाई धेरैले मेघा स्टार भनेर चिन्छन्, पछिल्लो समय ‘महानायक’ उपाधिसम्बन्धी विवादबीच पुनः नयाँ गीतमार्फत् दर्शक सामु आएका छन्।

Chetup Lama युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘लखौ तारा’ शीर्षकको यो गीतमा गायक–संगीतकार वीरेन्द्र दोङ र गायिका सुस्मिता मोक्तानको स्वर रहेको छ। गीतमा संगीत संयोजन उर्गेन दोङले गरेका छन् भने, मिक्सिङ/मास्टरिङ दिपेश प्रधानले सम्पादन गरेका छन्।

भिडियोमा अभिनेता तथा निर्देशक कुमार मोक्तान र सीता लामाको आकर्षक अभिनय देख्न सकिन्छ। क्यामेरा तथा सम्पादन सुनिल कुमार मोक्तानले गरेका हुन् भने, कलर ग्रेडिङ मेघ बी. थापाले गरेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन कार्य को म्हेन्दो मिडिया हाउसमार्फत सम्पन्न गरिएको हो।

काभ्रे नला र पनौती आसपासका रमणीय स्थलमा छायांकन गरिएको यस गीतमा भावनात्मक अभिनय र आकर्षक निर्देशन देख्न सकिन्छ। यद्यपि, सामाजिक सञ्जालमा केही दर्शकहरूले भिडियोको क्यामेरा र सम्पादन पक्ष अपेक्षाअनुसार बलियो नदेखिएको प्रतिक्रिया दिएका छन्।

दशकौँदेखि तामाङ चलचित्र क्षेत्रमा निरन्तर योगदान दिँदै आएका कुमार मोक्तान प्रतिभाशाली कलाकारका रूपमा स्थापित छन्। तर, दर्शकहरूका अनुसार यो प्रस्तुति उनका अघिल्ला उत्कृष्ट कामहरूसँग तुलना गर्दा केही कमजोर देखिएको छ।

कतिपयले मेघा स्टार मोक्तानले अब आफ्नो टिम र मेकर चयनमा अझ ध्यान दिनुपर्ने सुझाव दिएका छन्। तर, निर्देशक मोक्तानले यसलाई एउटा सृजनात्मक प्रयासको रूपमा लिएको बताइएको छ र आगामी प्रोजेक्टमा अझ उत्कृष्ट प्रस्तुति दिने प्रतिबद्धता जनाएका छन्।

काठमाडौं । व्यापारी तथा समाजसेवी दुर्गा प्रसाईंले भाडामा मान्छे ल्याएर आन्दोलनमा उतार्न सक्ने आशंकाबारे सुरक्षा निकायले सरकारलाई विस्तृत ब्रिफिङ गरेको छ। प्राप्त सूचनाअनुसार प्रसाईं समूहले पछिल्ला दिनमा देशका विभिन्न स्थानमा असन्तुष्ट समूहहरूलाई आर्थिक प्रलोभन देखाउँदै राजनीतिक आन्दोलनमा सहभागी गराउने प्रयास गरिरहेको बताइएको छ।

गृह मन्त्रालयमा हालै सम्पन्न उच्चस्तरीय बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरूले प्रसाईंको गतिविधि र सम्भावित जोखिमबारे विस्तृत रिपोर्ट पेश गरेका थिए। रिपोर्टमा प्रसाईं पक्षले “भाडाका भीड” परिचालन गरेर अस्थिरता सिर्जना गर्न खोज्ने सम्भावना औंल्याइएको छ।

प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाइएको ब्रिफिङमा सुरक्षा निकायले हालका प्रसाईंका अभिव्यक्ति र गतिविधिहरूलाई “राजनीतिक उद्देश्यले प्रेरित र व्यवस्थाविरुद्ध आक्रोश फैलाउने प्रकृतिका” भएको उल्लेख गरेका छन्।

सुरक्षा निकायले प्रसाईं समूहका आर्थिक स्रोत, आवागमन, र संचार सञ्जालमा निगरानी बढाएको जनाएको छ। यसैबीच, गृह मन्त्रालयले मुलुकको वर्तमान संवेदनशील अवस्थालाई मध्यनजर गर्दै सुरक्षा सतर्कता बढाउने निर्देशन जारी गरेको छ।

काठमाडौं । भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा प्रतिबद्ध रहि शान्ति ,बिकास र उत्पादन मार्फत संमृद्ध नेपालको परिकल्पना गर्दै सामाजिक संगठनको रुपमा अगाडी बढिरहेको भ्रष्टाचार बिरुद्ध नागरिक अभियान नेपाल प्रति युवाहरुको चासो बढेको छ ।
संस्थाले देशको वर्तमान परिस्थितिमा भ्रष्टाचार बिरुद्ध नागरिक अभियानको महत्व अत्यधिक बढेको भन्दै संगठनलाई देशव्यापि बनाउने घोषणा गरे लगत्तै काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ मा वडा समिति गठन भएको हो ।
लामो समय सामाजिक तथा राजनैतिक क्षेत्रमा काम गरिरहेका युवा रुपेश लोेप्चनले काभ्रेपलान्चोकमा भ्रष्टाचार बिरुद्ध अभियानको संगठन बिस्तार तथा कार्यक्रम संयोजकको जिम्मेवारी सम्हालेको छोटो समयमानै आफ्नै वडाबाट संगठन बिस्तारको कामलाई अगाडी बडाएका हुन् ।
काभ्रेपलान्चोक जिल्लाको खानिखोला गाउँपालिका वडा नं.४ माभएको एक भेलाले ङेमा थिङको संयोजकत्वमा २१ सदस्यको वडा समिति घोषणा गरेको हो ।
समितिको सह संयोजकमा श्याम वाजु र सोम बहादुर स्याङ्तान रहेका छन भने बिक्रम जिम्वा,सुरेश बल, छिरिङ्ग थोकर,भिम बहादुर घलान,दिप बल, रजिना लोप्चन,समर जिम्बा,बिकलाल लोप्चन,शुक बहादुर घलान,प्रविन लोप्चान,चन्द्रध्वज स्याङ्तान,सरोज स्याङ्तान,प्रेम बहादुर लोप्चन,अबिल स्याङतान,सोम बहादुर स्याङ्तान,बिजय जिम्बा,बुद्ध स्याङ्तान,शिबराज स्याङतान सदस्यमा चयन भएका छन् ।
वडा तथा पालिकामा हुने बिकास निर्माण तथा हरेक किसिमका भ्रष्टाचारको बिरुद्धमा आफ्नो सकृयता बढाएर भ्रष्टाचार प्रति शुन्य सहनसिलताको नीतिमा अगाडी बढ्न प्रतिबद्ध भई आफुहरु यो संगठनमा आवद्ध भएको सहभागिहरुले जनाएका छन् ।
अब यो संगठनले आम नागरिकतहमा सचेतना र सरकारी कार्यालय तथा योजनाहरुमा खबरदारी गर्दै भ्रष्टाचारलाई शुन्यमा झार्न महत्वपुर्ण भुमिका खेल्ने काभ्रे जिल्लाका कार्यक्रम संयोजक रुपेश लोप्चनले जानकारी दिएका छन् ।
अब विस्तारै पालिका स्तर र काभ्रे जिल्लमा समेत यस्तै सकृय संगठन निर्माण गरेर आगाडी बढ्ने नीतिमा आफुहरु रहेको संयोजक लोप्चन बताउँछन् ।

काठमाडौं — देशको वर्तमान सुरक्षा अवस्थाबारे प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री, गृहसचिव तथा चारवटै सुरक्षा निकायका प्रमुखसँग आज बिहान बालुवाटारमा विस्तृत छलफल गरेकी छन्।

स्रोतका अनुसार प्रधानमन्त्री निवासमा बसेको बैठक करिब दुई घण्टा चलेको थियो। बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारै सुरक्षा निकायका प्रमुखहरू सहभागी थिए।

बैठकमा सहभागी अधिकारीहरूले देशभरको सुरक्षा स्थिति, हालका गतिविधि र सम्भावित चुनौतीबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए।

गृहमन्त्री अर्यालले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिँदै भने,

सुरक्षा अवस्थाबारे हामीले सूक्ष्म विश्लेषण गरेका छौँ। विभिन्न समूहहरूले प्रदर्शनका तयारी गरिरहेका छन् भन्ने जानकारी आएको छ। तर, राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न सबै स्वतन्त्र छन्।”

उनका अनुसार सरकारले संवाद र वार्ता मार्फत समस्या समाधान गर्ने नीति लिएको छ।

संवादको ढोका सधैं खुला छ। अहिलेको परिस्थितिलाई जिम्मेवार ढंगले बुझी प्रस्तुत हुन सबैसँग आग्रह गर्दछौं,” गृहमन्त्री अर्यालले थपे।

बैठकमा आगामी दिनमा शान्ति–सुरक्षा सुदृढ गर्न थप संयन्त्र र समन्वय गर्ने विषयमा पनि चर्चा भएको बताइएकाे छ।

काठमाडौं — चर्चित लोकगायिका नितु पौडेलको मृत्यु प्रकरणले अहिले नेपाली संगीत क्षेत्रमा ठूलो हलचल मच्चाएको छ। नितुले केही दिनअघि आफ्नै शरीरमा आगो लगाएर आत्मदाह प्रयास गरेकी थिइन् । गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएकी पौडेलको उपचारका क्रममा निधन भएको हो।

घटनापछि नितुको परिवारले गायक बाबुल गिरी (धनबहादुर गिरी) विरुद्ध आत्महत्या दुरुत्साहन गरेको भन्दै प्रहरीमा उजुरी दर्ता गराएका छन्। उजुरीमा गिरीले विवाहको वाचा तोड्दै नितुलाई मानसिक र भावनात्मक रूपमा अत्यधिक दबाब दिएको आरोप लगाइएको छ।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रमुख एसपी पवन कुमार भट्टराईको नेतृत्वमा अहिले उक्त प्रकरणमा गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। भट्टराईका अनुसार, घटनाको सबै कोणबाट अनुसन्धान अघि बढाइएको छ । “घटनास्थल निरीक्षण, नितुको सामाजिक सञ्जाल पोस्ट, मोबाइल कल र सन्देश विवरण, प्रत्यक्षदर्शीका बयान लगायत सबै प्रमाणहरू संकलन भइरहेका छन्,” उनले बताएका छन्।

प्रहरीले बाबुल गिरीलाई पक्राउ गरी प्रारम्भिक बयान लिइसकेको छ। प्रहरीले हाल उनलाई “आत्महत्या दुरुत्साहन” शीर्षक अन्तर्गत अनुसन्धानमा राखेको छ। प्रारम्भिक अनुसन्धानका क्रममा, नितुले घटनाको केही घण्टा अघि सामाजिक सञ्जालमा “ठूलो निर्णय लिँदै छु” भन्ने स्टाटस पोस्ट गरेकी थिइन् भन्ने पनि खुलेको छ।

कानुनी रूपमा यो मुद्दा नेपालको दण्ड संहिता (Penal Code) अन्तर्गतको आत्महत्या दुरुत्साहनको धारा अन्तर्गत पर्छ, जसमा कसैले अरूलाई आत्महत्या गर्न प्रेरित वा बाध्य पारेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुनसक्छ।

घटनाको गहिरो अध्ययनका लागि प्रहरीले नितुको फोन र सामाजिक सञ्जाल खाता फरेन्सिक परीक्षणमा पठाएको बताइएको छ। साथै, अस्पतालको रिपोर्ट, शव परीक्षण र घटनास्थलको प्रत्यक्ष प्रमाणहरू पनि अनुसन्धानको दायरामा समावेश गरिएको छ।

यस घटनाले नेपाली संगीत उद्योगमा महिला कलाकारहरूको मानसिक स्वास्थ्य, व्यक्तिगत सुरक्षा र सम्बन्धजन्य दबाबबारे नयाँ बहस सुरु गरेको छ। परिवारजनले छोरीलाई न्याय दिलाउन कडा कानुनी कारबाहीको माग गरेका छन्।

यसैबीच, प्रहरीले यो प्रकरणमा संलग्न अन्य व्यक्तिहरूको संलग्नता पनि हुनसक्ने भन्दै थप अनुसन्धान जारी राखेको जनाएको छ।

प्रहरी स्रोतका अनुसार, आगामी दिनमा अनुसन्धान पूरा भएपछि मुद्दा जिल्ला सरकारी वकिल कार्यालयमा पठाइनेछ र त्यसपछि अदालतमा मुद्दा दायर गरिनेछ।

भक्तपुर । तिहारको अवसर पारेर जिक्तेन मिडिया हाउसले कार्तिक ५ गते आयोजना गरेको ब्रहत देउसी–भैलो तथा सांस्कृतिक कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य डिल्लिमान तामाङले तिहारले आपसी भाईचारा, एकता र सांस्कृतिक सौहार्द सुदृढ गर्ने अवसर भएको बताउँदै भन्नुभयो —

तिहार केवल दीपावलीको पर्व होइन, यो हाम्रो पहिचान, संस्कृति र बन्धुत्वको प्रतीक हो। स्थानीय युवाहरूले यसरी कला–संस्कृतिको संरक्षण गर्दै अगाडि बढ्नु निकै प्रशंसनीय काम हो।”

त्यस्तै, विशेष अतिथि सुनापति गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले स्थानीय कलाकार र युवा वर्गको सक्रियता र योगदानको प्रशंसा गर्दै भन्नुभयो —

आफ्नो संस्कृति र परम्परालाई जोगाउँदै आधुनिक युगसँग तालमेल मिलाउने कार्यमा जिक्तेन मिडिया हाउसले गरेको पहल सराहनीय छ। यस्तो कार्यक्रमले गाउँ समाजमा सकारात्मक सोच र एकताको सन्देश दिन्छ।”

कार्यक्रममा धाबा लामा, दोरम्बा शैलुङ गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तान, र सुनापति गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशकुमार श्रेष्ठ लगायतका सम्माननीय अतिथिहरूको उपस्थिति रहेको थियो।

सांस्कृतिक कार्यक्रममा चर्चित कलाकारहरू अभिषेक मोक्तान, निर्मला घिसिङ, उत्तर लामा (संगुल), अनिश योञ्जन, प्रबिन्स मोक्तान, केशर कालिकोटे लगायतले दमदार प्रस्तुति दिएका थिए। साथै, पुष्प जनजागरण सांस्कृतिक परिवारले प्रस्तुत गरेका देउसी–भैलो र आकर्षक नृत्यहरूले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।

कार्यक्रमका संयोजक विजय दोङ, व्यवस्थापक मिङमा योञ्जन, सञ्चालक हिरालाल दोङ, र सभापति जिक्तेन मिडिया हाउसका अध्यक्ष चम्पा योञ्जन रहनु भएको थियो।

तिहारको उल्लासपूर्ण वातावरणमा सम्पन्न यस कार्यक्रमले स्थानीय समुदायबीच कला, संस्कृति र सौहार्दलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन्।

भक्तपुर । भक्तपुर नगरपालिका-३ नासमनाको घ:खास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा २७ जना पक्राउ परेका छन् ।
गएराति विशेष सुराकीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेक हो ।
पक्राउ परेकाहरुको पहिचान सार्वजनिक भएको छैन ।तर, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले २७ जुवाडे पक्राउ परेका पुष्टि गरे ।
घटनास्थलबाट ८ लाख बढी नगद बरामद भएको बताइएको छ । पक्राउ परेकाहरू उपर थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

काठमाडौं — नेकपा (एमाले)का सांसद महेश बस्नेतले चकित पार्ने दाबी गर्दै बताएका छन् कि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, प्रकाशमान सिंह लेखकआफूलाई समेत पक्राउ गर्ने योजना सरकारले नियमित बैठकमार्फत तयार गर्दै आएको छ।
उनका अनुसार हाल सत्तारुढ दलभित्र “राजनीतिक प्रतिशोध” र “विपक्षीलाई कमजोर पार्ने रणनीति” अन्तर्गत केही नेताहरूमाथि कानूनी जाल बुनिँदै छ। बस्नेतले भने,
“माथि राजनीतिक षड्यन्त्र हुँदैछ। ठूला नेताहरूलाई पनि नछोड्ने तयारी छ। सरकार र केही निकायहरू मिलेर योजनाबद्ध रूपमा काम भइरहेको छ।”
बस्नेतले यो पनि आरोप लगाएका छन् कि यो गतिविधि प्रधानमन्त्रीकै निर्देशनमा भइरहेको छ र यसले देशको लोकतान्त्रिक प्रणालीलाई कमजोर पार्ने खतरा बढाएको छ।
तर, सरकार पक्षले भने बस्नेतको दाबीलाई निराधार भन्दै खण्डन गरेको छ। उनका अनुसार यो “सार्वजनिक ध्यान अन्यत्र मोड्ने” प्रयास मात्र हो।
राजनीतिक वृत्तमा अहिले बस्नेतको यो अभिव्यक्तिले नयाँ चर्चा र विवाद निम्त्याएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।