२०८३ आश्विन १३ मंगलवार

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन १३ मंगलवार

काठमाडौं / काठमाडौं महानगरपालिका वडा नं. १६ खुसीबुँ, नयाँबजारस्थित बहुउद्देश्यीय मार्सलआर्ट भवनमा ११औँ वडा राष्ट्रिय ई–लाइट केनवाकाइ कराते च्याम्पियनसिप–२०२६ भव्य रूपमा सुरु भएको छ। देशका विभिन्न जिल्लाबाट आएका सयौँ खेलाडीहरूको उत्साहजनक सहभागिताले प्रतियोगितालाई थप आकर्षक बनाएको छ।

कुमारी युवा क्लब तथा कराते क्लब बालाजुटारको आयोजनामा र काठमाडौं महानगरपालिका वडा नं. १६ को विशेष सहयोगमा सञ्चालन भइरहेको उक्त प्रतियोगिताको उद्घाटन नेपाल कराते महासंघका महासचिव दावा गुरुङले गर्नुभएको थियो। कार्यक्रमको सभापतित्व जापान गोजुरियो कराते केनवाकाइ नेपाल संघका अध्यक्ष विदुर कुँवरले गर्नुभएको थियो भने सञ्चालन कराते क्लब बालाजुटार, काठमाडौंका अध्यक्ष सूर्यप्रसाद घिमिरेले गर्नुभएको थियो।

उद्घाटन समारोहमा नेपाल एकायन कराते संघका संस्थापक अध्यक्ष कृष्ण डंगोल, नेपाल बेसबल तथा सफ्टबल संघका महासचिव प्रदीप शाह, टोल सुधार तथा उपभोक्ता समिति बालाजुटारकी अध्यक्ष कमला पौडेल, सामुदायिक केन्द्र बोहोराटारका अध्यक्ष शिवकुमार बोहोरा, टोल सुधार तथा उपभोक्ता समिति अध्यक्ष रामेश्वर रेग्मी तथा सामुदायिक विकास केन्द्रका अध्यक्ष भीष्मकान्त घिमिरेलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आयोजकका अनुसार प्रतियोगितामा काठमाडौं, नुवाकोट, रुपन्देही, दोलखा र बाग्लुङ जिल्लाबाट आएका २३५ जना खेलाडीहरूले विभिन्न विधामा प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताले युवा खेलाडीहरूलाई आफ्नो क्षमता र प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै राष्ट्रिय स्तरमा कराते खेलको विकास, विस्तार तथा प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा निर्णायकको भुमिकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका २२ जना रेफ्रीहरु सहभागि भएको आयोजकले जनाएको छ ।

प्रतियोगिताअन्तर्गत विभिन्न स्पर्धाहरू उत्साहजनक रूपमा सञ्चालन भइरहेका छन्। आयोजकले प्रतियोगिताको समापन तथा पुरस्कार वितरण कार्यक्रम २०८३ साल जेठ ३० गते आयोजना गरिने जनाएको छ।

खेलकुदमार्फत अनुशासन, आत्मविश्वास, खेल भावना तथा स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्यसहित आयोजना गरिएको यस प्रतियोगिताले नेपाली कराते खेलको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

काठमाडौं । तामाङ समुदायको मौलिक भाषा, संस्कृति र सामाजिक यथार्थलाई केन्द्रमा राखेर निर्माण गरिएको तामाङ चलचित्र म्हारमेन को विशेष प्रदर्शन आगामी जेठ १५ गते काठमाडौंमा हुने भएको छ।
मोम्स इन्टरनेसनल नेपाल प्रोडक्सन को ब्यानरमा निर्माण भएको चलचित्रको विशेष शो भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब मा दिउँसो १२ बजे आयोजना हुने निर्माण पक्षले जनाएको छ। चलचित्रको आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले दर्शक, सञ्चारकर्मी, कलाकार तथा तामाङ चलचित्रप्रेमीलाई कार्यक्रममा सहभागी भई चलचित्रलाई साथ दिन आग्रह गरेको छ।
निर्देशक अजय स्याङ्तान ले निर्देशन गरेको चलचित्र ‘म्हारमेन’ले तामाङ समुदायको मौलिक जीवनशैलीसँगै उनीहरूले भोग्दै आएको सामाजिक, आर्थिक तथा मानवीय पीडालाई पर्दामा उतार्ने प्रयास गरेको छ। कथावस्तु विशेषगरी भूकम्पपछिको जनजीवन, गाउँलेहरूको संघर्ष र विपद्ले निम्त्याएको कठिन अवस्थामाथि आधारित रहेको निर्माण टिमले जनाएको छ।
चलचित्रमा विनाशकारी भूकम्पपछि घरबार गुमाएर खुला आकाशमुनि बस्न बाध्य बनेका गाउँलेहरूको पीडालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। त्यससँगै राहतको नाममा गाउँ पुगेका केही व्यक्तिबाट सोझा जनताको असहाय अवस्थाको दुरुपयोग हुने घटनालाई पनि चलचित्रले गम्भीर रूपमा उठाएको छ। मानव बेचबिखनजस्तो जघन्य अपराधविरुद्ध सचेतना फैलाउने उद्देश्यले समेत चलचित्र निर्माण गरिएको बताइएको छ।
चलचित्रमा अमीर दोङ, रन्जिता ब्लोन तामाङ, सुष्मा मोक्तान, कुइसाङ रुम्बा, अनिता नेगी, पदम दोङ, अश्मान वाइबा, राहुल मोक्तान र बद्री थिङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका कार्यकारी निर्माता सुनि लामा र विनोद लामा हुन्। कथा तथा लेखन दोर्जे तामाङ र ऋतु राज पाख्रिन ले तयार गरेका छन्। संगीतमा बिशाल काल्तान, स्वरमा बिशाल काल्तान र शशी कला मोक्तान रहेका छन्। छायांकन, सम्पादन तथा रङ संयोजन बिक्रम मोक्तान ले सम्हालेका छन्।
तामाङ समुदायको मौलिक कथा र यथार्थलाई सशक्त रूपमा प्रस्तुत गर्ने दाबी गरिएको चलचित्र ‘म्हारमेन’ले विशेष प्रदर्शनपछि दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाउने अपेक्षा निर्माण पक्षको रहेको छ।

 

काठमाडौं । नेपाली संगीत क्षेत्रमा नयाँ स्वाद र नयाँ प्रयोग खोज्नेहरूका लागि गायक श्याम प्रसाद सुवेदीको नयाँ गीत ‘आधा नेपाली आधा भोजपुरी’ विशेष उपहार बनेर आएको छ। नेपाली र भोजपुरी भाषाको संयोजनमा निर्माण गरिएको गीतले सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया प्राप्त गर्न थालेको छ।

तृष्णा फिल्मस् नेपालको ब्यानरमा तयार गरिएको गीतले नेपाली समाजको बहुसांस्कृतिक स्वरूपलाई संगीतमार्फत प्रस्तुत गरेको छ। गीतमा रहेको भावनात्मक प्रस्तुति, सुन्दर शब्द संयोजन र आकर्षक संगीतले श्रोताको मन छुने अपेक्षा गरिएको छ।

 गीतको लोकार्पण समारोह सोमबार काठमाडौंस्थित सिन्की भान्छा घरमा सम्पन्न भएको छ। कार्यक्रममा सर्जक विजेन्द्र नौबागे प्रमुख अतिथिका रूपमा उपस्थित थिए। पत्रकार डीबी पराजुली, विनोद नेपाली, कलाकार बिरेन्द्र नौभाग्य, मोडल धिरज खत्री, नायक सैलेश पहरी, गायिका श्रद्धा दियाली, बिमला परियार, व्यवसायी मिनबहादुर पहरी, मोडल अशोक कोइराला लगायत कला र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बारा जिल्लाको कोल्बी बजारमा छायांकन गरिएको भिडियोले स्थानीय संस्कृति, रहनसहन र प्राकृतिक सौन्दर्यलाई प्रभावशाली ढंगले प्रस्तुत गरेको छ। कलाकार अग्नि राना मगर र दिब्या बयलकोटीको अभिनयले गीतको भावनालाई अझ गहिरो बनाएको छ।

काठमाडौं । रोल्पा जिल्लामा २०६० साल पौष ६ गते बुवा कुमार बुढा मगर र आमा धनमाया बुढा मगरको कोखबाट जन्मिएकी नृत्याङ्गना तथा मोडल अस्मिता बुढा मगर यतिबेला नेपाली लोकसङ्गीत क्षेत्रमा चर्चाको केन्द्र बन्न थालेकी छन् । गीत–सङ्गीतलाई आफ्नो कर्मथलो बनाउँदै काठमाडौंमा रहेर सक्रिय अस्मिताले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो नै दर्शक तथा स्रोतामाझ लोकप्रिय बनेपछि उनको चर्चा चुलिएको हो ।

नेपाली लोकसङ्गीत क्षेत्रका स्थापित कलाकारहरू नीता थापा मगर, सुनिता थापा मगर, कमल घर्ती मगर र दीपक घर्ती मगरको स्वर रहेको नयाँ मौलिक गीत ‘रानी फूलैमा’ सार्वजनिक भएसँगै भिडियोमा देखिएकी अस्मिताको अभिनय र नृत्यले विशेष प्रशंसा पाएको छ । भिडियोमा उनको प्रस्तुतिले गाउँले परिवेश, नेपाली मौलिकता र प्रेमभावलाई जीवन्त ढंगले प्रस्तुत गरेको दर्शकहरूको प्रतिक्रिया छ ।

सिद्धार्थ आले मगर र कमल घर्ती मगरको शब्द रहेको गीतमा कमल घर्ती मगरकै सङ्गीत रहेको छ भने दीपक घर्ती मगरले सङ्गीत संयोजन गरेका हुन् । गीतको मिक्सिङ तथा मास्टरिङ रुबिन मगरले गरेका छन् । किरण आले मगरले रेकर्ड गरेको गीत आरोह स्टुडियोमा तयार पारिएको हो ।

चर्चित निर्देशक तथा कोरियोग्राफर स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशनमा तयार पारिएको भिडियोमा अजय पुन मगर, अस्मिता बुढा मगर, दीपक घर्ती मगर र पुष्पा सेन्चुरीको अभिनय देख्न सकिन्छ । सुमित तामाङको छायाङ्कन तथा मिराज अर्यालको सम्पादन र रङ संयोजन रहेको भिडियोले नेपाली संस्कृति, भेषभूषा र मौलिकपनलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ ।

दीपक घर्ती मगरको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘रानी फूलैमा’ले छोटो समयमै राम्रो प्रतिक्रिया पाइरहेको छ । रीमा फिल्म्सले पोस्ट–प्रोडक्सन गरेको भिडियोमा अनमेष गुरुङको शृङ्गार रहेको छ । पहिलो मोडलिङमै अस्मिता बुढा मगरले दर्शकको मन जित्न सफल भएको चर्चा लोकसङ्गीत वृत्तमा हुन थालेको छ ।

काठमाडौं । राजधानी काठमाडौं फेरि एकपटक फुटबलको ज्वरोले तात्ने भएको छ। युवा जोश, प्रतिस्पर्धाको उत्कर्ष र एक समाजसेवी व्यक्तित्वप्रतिको सम्मानलाई एउटै मैदानमा उतार्दै काठमाडौं महानगरपालिका वडा नं. १६ ले “वडा स्तरीय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ।

खेलकुदप्रेमीहरूका लागि उत्सुकतापूर्वक प्रतीक्षा गरिएको यो प्रतियोगिता  २०८३ जेठ १० गते बिहान ७ बजे राजधानीको ऐतिहासिक लैनचौर खेल मैदानबाट औपचारिक रूपमा सुरु हुँदैछ। आयोजकका अनुसार उद्घाटन समारोहलाई विशेष, भव्य र स्मरणीय बनाउने तयारी तीव्र रूपमा भइरहेको छ।

वर्षौंसम्म समाज, युवा तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याएका स्वर्गीय मुकुन्द रिजालको स्मृतिलाई सम्मान गर्दै आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुद मात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोचको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ।

वडा सचिव प्रकाश खड्काका अनुसार स्वर्गीय रिजालको योगदानलाई नयाँ पुस्तासामु जीवित राख्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गरिएको हो। “उहाँले समाज र युवाका लागि पुर्‍याउनुभएको योगदानलाई सम्मान गर्दै यो प्रतियोगिता सुरु गरिएको हो। यसले युवामा खेल संस्कृतिको विकाससँगै सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास लिएका छौं,” उहाँले बताउनुभयो।

यस प्रतियोगितामा काठमाडौं महानगरपालिकाका विभिन्न वडाबाट १३ वटा टिम सहभागी हुनेछन्। उद्घाटन खेलमै आयोजक वडा नं. १६ र वडा नं. १० बीच कडा प्रतिस्पर्धा हुने तय भएको छ। खेलप्रेमीहरूले यस भिडन्तलाई प्रतियोगिताकै सबैभन्दा रोमाञ्चक सुरुआतका रूपमा हेरेका छन्।

प्रतियोगिताको खबर सार्वजनिक भएसँगै स्थानीय स्तरमा उत्साहको माहोल देखिन थालेको छ। सामाजिक सञ्जालदेखि चोक–गल्लीसम्म आफ्ना टिमको समर्थनमा चर्चा, विश्लेषण र प्रचार–प्रसार सुरु भइसकेको छ। समर्थकहरू आफ्नो टोलीलाई जिताउन भावनात्मक रूपमा समेत जोडिन थालेका छन्।

आयोजकको भनाइमा प्रतियोगिताको मूल उद्देश्य केवल विजेता चयन गर्नु होइन। पछिल्लो समय युवापुस्तामा बढ्दै गएको निराशा, कुलत र सामाजिक विकृतिविरुद्ध खेलकुदलाई सशक्त माध्यमका रूपमा प्रयोग गर्दै सकारात्मक सोच, अनुशासन, नेतृत्व क्षमता र सहकार्यको भावना विकास गर्नु यसको प्रमुख लक्ष्य हो।

स्थानीय बासिन्दाहरूले पनि प्रतियोगितालाई केवल खेलकुद कार्यक्रमका रूपमा नभई सामाजिक अभियानका रूपमा लिएका छन्। “स्वर्गीय मुकुन्द रिजालले समाजका लागि गरेका योगदानहरू आज पनि सम्झनलायक छन्। उहाँको नाममा हुने यो प्रतियोगिता एउटा खेलभन्दा धेरै ठूलो भावनात्मक अभियान हो,” एक स्थानीय युवाले प्रतिक्रिया दिए।

लैनचौर मैदानमा केही दिनसम्म युवा खेलाडीहरूको उत्साहजनक प्रदर्शन, दर्शकहरूको हुटिङ, गोलका लागि हुने संघर्ष र खेलभावनाले भरिएका क्षणहरूले राजधानीलाई पूर्ण रूपमा खेलमय बनाउने अपेक्षा गरिएको छ। मैदानमा देखिने प्रतिस्पर्धा र दर्शकदीर्घामा गुञ्जिने उत्साहले काठमाडौंको खेलकुद संस्कृतिलाई नयाँ ऊर्जा दिने विश्वास गरिएको छ।

खेल विश्लेषकहरूका अनुसार उद्घाटन खेलमा वडा नं. १६ र वडा नं. १० बीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुने सम्भावना छ। दुवै टोलीले विगत केही सातादेखि नियमित अभ्यास र रणनीतिक तयारी गरिरहेका छन्। त्यसैले पहिलो दिनमै रोमाञ्चक फुटबलको स्वाद पाउने दर्शकको अपेक्षा उच्च छ।

आयोजक स्रोतका अनुसार यो प्रतियोगिता भविष्यमा अझ व्यापक र व्यवस्थित रूपमा सञ्चालन गर्ने योजना पनि बनाइएको छ। स्थानीय स्तरबाट प्रतिभावान खेलाडी पहिचान गरी राष्ट्रिय खेलकुदमा योगदान पुर्‍याउने दीर्घकालीन लक्ष्यसहित प्रतियोगितालाई आगामी वर्षहरूमा थप विस्तार गरिने तयारी छ।

स्वर्गीय मुकुन्द रिजालको स्मृतिमा आयोजना हुन लागेको यो प्रतियोगिता खेलकुदको सीमाभन्दा माथि उठेर एउटा प्रेरणा, एउटा सम्मान र युवालाई सही दिशामा डोर्‍याउने सामाजिक अभियानका रूपमा स्थापित हुने विश्वास गरिएको छ। जेठ १० गतेदेखि लैनचौरमा सुरु हुने यो फुटबल महोत्सवले राजधानीलाई फेरि एकपटक उत्साह, उमंग र प्रतिस्पर्धाको रंगमा रंगाउने निश्चित देखिएको छ।

काठमाडौ
रुकुम पूर्वबाट तीर्थयात्री बोकेर रोल्पातर्फ जाँदै गरेको जीप रोल्पाको थबाङ क्षेत्रमा भीषण दुर्घटनामा परेको छ। भिरालो सडक खण्डमा अनियन्त्रित भई करिब ८०० मिटर तल खस्दा १८ जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।


स्थानीयका अनुसार दुर्घटना निकै भयानक रहेको र उद्धार कार्य जारी रहेको छ। घटनास्थल दुर्गम क्षेत्रमा परेकाले सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाले संयुक्त रूपमा उद्धार प्रयास गरिरहेका छन्।
घटनाबारे नेपाल प्रहरी र स्थानीय प्रशासन ले थप विवरण संकलन गरिरहेको जनाइएको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको र घाइतेहरूको अवस्था पनि यकिन हुन सकेको छैन।
दुर्घटनाको कारण खुल्न नसकेको भए पनि सडकको अवस्था, मौसम र सवारी साधनको प्राविधिक पक्षबारे अनुसन्धान भइरहेको बताइएको छ।

भक्तपुर, वैशाख १७
सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित ‘उर्गेन साङ्गे छ्योइलिङ गुम्बा’को आज एक विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमबीच भव्य रूपमा उद्घाटन सम्पन्न भएको छ।

उक्त कार्यक्रममा बौद्ध धर्मगुरु क्याबगोन फाक्चोक रिन्पोछेको गरिमामय उपस्थिति रहेको थियो भने सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
ह्याङला आदिवासी तामाङ समाजको पहलमा निर्माण सम्पन्न भएको गुम्बा लामो समयको श्रमदान, आर्थिक तथा सामाजिक सहयोगबाट साकार भएको हो। उद्घाटन समारोहका अवसरमा गुम्बा निर्माणमा विभिन्न तवरले योगदान पुर्‍याउने व्यक्तिहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा धर्मगुरु क्याबगोन फाक्चोक रिन्पोछेद्वारा विशेष वाङ (आशीर्वाद) प्रदान गरिएको थियो, जसले कार्यक्रममा सहभागी धर्मावलम्बीहरूलाई आध्यात्मिक ऊर्जा प्रदान गरेको विश्वास गरिएको छ।

प्रमुख अतिथि वासुदेव थापाले गुम्बा निर्माणले स्थानीय समुदायको धार्मिक तथा सांस्कृतिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउँदै यस्ता कार्यले सामाजिक एकता अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले गुम्बा जस्ता संरचनाले भावी पुस्तालाई संस्कार र पहिचान हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा गुम्बा व्यवस्थापन समितिका सभापति कर्मा लोप्साङ लामाले गुम्बा निर्माणमा आर्थिक, सामाजिक तथा विभिन्न तवरले सहयोग गर्ने सम्पूर्ण सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। उहाँले गुम्बालाई आगामी दिनमा धार्मिक साधना, शिक्षा तथा सांस्कृतिक गतिविधिको केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
स्थानीय समुदायको आस्था, एकता र पहिचानको प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको उक्त गुम्बाले बौद्ध धर्मको संरक्षणसँगै बौद्ध  समुदायको मौलिक संस्कृतिको जगेर्ना तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

उद्घाटन समारोहलाई स्थानीय स्तरमा ऐतिहासिक तथा गौरवपूर्ण क्षणका रूपमा लिइएको छ भने यसले समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि र सामाजिक एकता मजबुत बनाउन थप टेवा पुग्ने विश्वास गरिएको छ।

पोखरा । बालबालिकाको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले पोखरामा आयोजना हुँदै आएको ‘पोखरा चाइल्ड स्टार’को सिजन–५ भव्य रूपमा सम्पन्न भएको छ।
नन्द इन्टरटेन्मेन्ट हाउसको आयोजनामा शनिबार पोखरा उद्योग वाणिज्य संघमा सम्पन्न ग्राण्ड फिनालेमा सहभागी बालबालिकाले नृत्य, प्रस्तुति कला, आत्मविश्वास तथा सिर्जनशीलताको उत्कृष्ट प्रदर्शन गरेका थिए।

प्रतियोगिताको गल्र्सतर्फ शिक्षिता रञ्जित विजेता घोषित भएकी छन्। रोस्लिना राना मगर फस्र्ट रनरअप, तिथि मोर सेकेण्ड रनरअप, समृद्धि बराल थर्ड रनरअप र सिम्रन श्रेष्ठ फोर्थ रनरअप बने।
यस्तै, ब्याइजतर्फ प्रनिश विश्वकर्मा विजेता बनेका छन्। रोनिश पौडेल सेकेण्ड रनरअप तथा शिवंश लामिछाने थर्ड रनरअप घोषित भए।

गण्डकी प्रदेश सभा सदस्य दमयन्ती रुचालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम इन्टरनेशनल कलेज अफ एप्लाइड साइन्स (आइक्यास) का सिइओ समीर थापाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, अभिभावक तथा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

निर्णायक मण्डलमा समाजसेवी सीता शर्मा, गायिका दिलकुमारी खाँड, पोखरा लेडी जेसिजकी अध्यक्ष सुनिता भण्डारी, पत्रकार तथा गीतकार आरजू विष्ट सल्यानी, गायक रामप्रसाद गुरुङ र कलाकार एवं समाजसेवी बुद्ध तामाङ रहेका थिए।

कार्यक्रमलाई विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति र उत्साहजनक वातावरणले थप आकर्षक बनाएको थियो। प्रतियोगिताले बालबालिकाको प्रतिभा उजागर गर्दै भविष्यमा ठूला मञ्चसम्म पुग्ने अवसर प्रदान गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ।

आइक्यासको विशेष सहयोग रहेको कार्यक्रम सञ्चारकर्मी दीपेन्द्र शाही ‘देवेन्द्र’ ले सञ्चालन गरेका थिए। गत वर्ष सम्पन्न सिजन–४ मा पोखरा पब्लिक स्कुलका प्रवीन श्रेष्ठ र सेन्ट मेरी स्कुलकी आइरा गुरुङ विजेता बनेका थिए।

भक्तपुर। सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार हाइटमा अवस्थित उर्गेन साङ्गे छ्योइलिङ गुम्बा को औपचारिक उद्घाटन हुने भएको छ। ह्याङला आदिवासी तामाङ समाजको पहलमा निर्माण सम्पन्न उक्त गुम्बा लामो समयको समर्पण, श्रमदान र विभिन्न तहको सहयोगबाट साकार भएको हो।
गुम्बा अब धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा स्थापित हुने चरणमा पुगेको छ। स्थानीय समुदायको एकता, आस्था र पहिचानको प्रतीकका रूपमा रहेको यस गुम्बाले बौद्ध धर्मको संरक्षणसँगै तामाङ समुदायको मौलिक संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
गुम्बा परिसरलाई भविष्यमा धार्मिक साधना, आध्यात्मिक शिक्षा तथा विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने केन्द्रका रूपमा विकास गरिने विश्वास गरिएको छ। यसले स्थानीय समुदायमा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै सामाजिक एकता मजबुत बनाउने विश्वास आयोजकको छ।
उद्घाटन समारोहलाई विशेष बनाउँदै बौद्ध धर्मगुरु क्यावगोन फोक्चोक रिन्पोर्छे को गरिमामय उपस्थिति रहनेछ। साथै सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा प्रमुख अतिथिका रूपमा सहभागी हुने गुम्बा व्यवस्थापन समितिका अध्यक्ष कर्मा लोप्साङ लामाले जानकारी दिएका छन्।
आगामी २०८३ वैशाख १७ गते बिहान ८:०० बजेदेखि सुरु हुने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, समाजसेवी, धर्मावलम्बी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण धर्मप्रेमी तथा सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई भव्य रूपमा सफल बनाउन हार्दिक अनुरोध गरेका छन्।
धार्मिक स्थलको रूपमा मात्र सीमित नरही, उर्गेन साङ्गे छ्योइलिङ गुम्बा तामाङ समुदायको आस्था, एकता र सांस्कृतिक पहिचानको जीवित प्रतीकका रूपमा स्थापित हुने विश्वास गरिएको छ। यस उद्घाटन समारोहलाई स्थानीय स्तरमा एक ऐतिहासिक तथा गौरवपूर्ण क्षणका रूपमा हेरिएको छ।

काठमाडौं । समाजका हरेक गतिबिधिहरुलाई आमनागरिक बीच पुर्याउन महत्वपुर्ण भुमिका निर्वाह गरिरहेको तुफान न्युज डटकमको आधिकारीक संचालक संस्था पहाडी मिडिया नेटवर्क प्रा.लि.ले प्रकाशन गरेको भित्तेपात्रो — २०८३ एक कार्यक्रम बीच बिमोचन गरि बजारमा ल्याईएको छ ।
खासगरि मिडिया संचालनको पारदर्शि श्रोत भनेको विज्ञापनभएको हुँदा यस्ता प्रकाशनमा आउने विज्ञापनबाट मिडियालाई अगाडी बढाउन सजिलोहुने भन्दै प्रकाशकहरुले आम विज्ञापनदाताहरुको सहयोगमा यो भित्तेपात्रो प्रकाशन गरेको बताएका छन् ।
कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलोबाबु श्रेष्ठ,महासंघका सदस्य बालमुकुन्द नकर्मी,तोक बहादुर गधराज(तोकेन्द्र),ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौं स्वयम्भु नगर समितिका उपाध्यक्ष बाबुराजा महर्जन, सचिव भरत कुमार गधराज,कोषाध्यक्ष खेम कमल न्यौपाने, नागार्जुन नगर समितिका कोषाध्यक्ष रामचन्द्र नगरकोटी को उपस्थिति रहेको थियो ।
त्यस्तै कार्यक्रममा अभियन्ता तथा पत्रकार राजन थापा,समाजसेवी माधव गौतम,विनोद थापा,सरोज न्यौपाने,अर्जुनकुमार सिंह,सामाजिक, माईन्ड प्लसका प्रवन्ध निर्देशक,नवीन पल्लव, सर्जक तथा कलाकार बिजेन्द्र नौबागे,दन्त चिकित्सक डा.पुस्कर काफ्ले,व्यवसायी तथा रोज नेपाल डटकमका संचालक राजकुमार हुँमागाई, भ्रष्टाचार बिरुद्ध नागरिक अभियानका महासचिव कृष्णहरी के.सी.,माईती लिक्वीड डिसवासका संचालक तथा युवा व्यवसायी सुशिल मोक्तान,युवा व्यवसायी कृष्ण पराजुली डेरी व्यवसायी ध्रुव तिवारी,मिडियाकर्मी राजु भट्ट, छविराम पराजुली, लिला खनाल,दुर्गा न्यौपाने,लेखनाथ, दिक्षा थापा लगायतका विज्ञापनदाता तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजन पहाडी मिडिया नेटवर्क प्रा.लिका अध्यक्ष तथा तुफान न्युज डटकमका सम्पादक राम बहादुर सिंहले गरेका थिए भने कार्यक्रम संचालन सारा खबर डटकमका सह सम्पादक तथा तुफान न्युज डटकमका प्रबन्ध निर्देशक डि.बि. पराजुलीले गरेको थिए ।
अनौपचारीक रुपमा सन्चालन गरिएको कार्यक्रमा सबै अगन्तुकहरुले भित्तेपात्रो प्रदर्शन गरेर बिमोचन गरिएको थियो ।
कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सामाजिक रुपान्तरणको अभियानमा मिडियाको भुमिकाको बिषयमा जोड दिदै सिमित श्रोत साधनबाट चलेको मिडियाहरुलाई टिकाउन उद्योगी तथा व्यवसायीहरुले साथ दिनु पर्नेमा जोड दिदैं मिडिया र उद्योगीहरुको सम्बन्ध नङ र मासुको जस्तो बनाउनुपर्नेमा जोड दिनु भयो ।
मिडिया सन्चालनको पारदर्शि श्रोत व्यवस्थापन भनेको विज्ञापननै हो भन्दै सत्य र तथ्यमा आधारित रहेर आगाडी बढ्न वक्ताहरुले सुझव समेत दिनु भएको थियो ।
कार्यक्रमका मुख्य वक्ता ग्रील तथा स्टील व्यवसायी महासंघका अध्यक्ष ठुलोबाबु श्रेष्ठले सामाजिक हितकालागि लाग्ने तथा यस्ता रचनात्माक कृयाकलाप मार्फत आफ्नजा ग्राहक,श्रोता वा दर्शकहरु संग जोडिईरहने मिडियाहरुलाई आफ्नो तर्फबाट सदैब सहयोग रहने बताउनु भयो ।
अनौपचारीक कार्यक्रममा बोल्दै माईती लिक्वीड डिसवासका संचालक तथा युवा व्यवसायी सुशिल मोक्तानले नेपाली उत्पादन प्रयोग गरेर नेपाली उद्योगीलाई हौसला प्रदान गर्न आग्रह गर्दै साना मिडिया हरुले सपोर्ट गरेरनै आफु आज यो स्थान सम्म आईपुग्न सफल भएको बताउने भयो ।
कार्यक्रममा दन्त चिकित्सक डा.पुस्कर काफ्लेले बेलुका खाना खाएपछि दाँत माझ्ने बानी गर्नाले दाँतको रोग लाग्न बाट बच्न सकिने भन्दै सबैले रुल्सफलो गर्न सके राम्रोहुने बताउनु भयो ।
कार्यक्रमको अन्त्यमा नायँबर्ष २०८३ को शुभकामना आदान प्रदान गरेर कार्यक्रम समापन गरिएको थियो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।