२०८३ बैशाख ४ शुक्रबार

ट्रेन्ड्स :-

Search
२०८३ बैशाख ४ शुक्रबार

काठमाडौं । विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आफूले पदबाट राजीनामा दिएको भनी प्रसारित समाचारप्रति मन्त्रीले गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

सामाजिक सञ्चाल मार्फत  जारी गर्दै मन्त्रीले पदबाट राजीनामा दिन लागेको भन्ने समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्चाल मार्फत भनिएको छ, “जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु।”

मन्त्रीले भ्रामक समाचारप्रति जनतामा भ्रम नफैलाउन आग्रह पनि गरेका छन्।

काठमाडौं । नेपाली संगीत क्षेत्रमा एक रमाइलो कथा बोकेको गीत “भगाई लैजाम” सार्वजनिक गरिएको छ।
गीतले गाउँघरदेखि सहरका स्कुले परिवेशसम्म पाइने प्रेम–संस्कृतिलाई हास्य र यथार्थ दुवै पाटो मिसाएर प्रस्तुत गरेको छ।

भिडियोको कथा एक स्कुलमा पढाउने मास्टर र त्यहीँकी मिसबीच सुरु हुने जिस्क्याउने र मायाको सम्बन्ध वरिपरि घुम्छ।
मास्टरले मिसप्रति देखाउने लजालु व्यवहार, मिसको जिस्क्याउने हाउभाउ र दुवैबीचको हाँसो–ठट्टाले कथा सुरुदेखि नै रमाइलो बनाएको छ। उनीहरूबीच सामान्य आकर्षण प्रेममा बदलिन्छ, र स्कुलकै वातावरणमा उनीहरूले लुकिछिपी भेटघाट नाचगान  गर्न थालेको देखाइन्छ।

तर, कथाले अन्त्यतिर पुग्दा अप्रत्याशित मोड लिन्छ —
मास्टर र मिसबीचको माया बढ्दै जाँदा, स्कुलकै पाहाले (पियन) मिसलाई भगाई लगेको दृश्य देखाइन्छ।
यसले दर्शकलाई हस्याउँदै आश्चर्यचकित पनि बनाउँछ।

गीतले प्रेमको सरल भावना, प्रतिस्पर्धा र समाजका रमाइला यथार्थहरूलाई हाँस्य शैलीमा प्रस्तुत गरेको निर्देशकको भनाइ छ।

गीतमा रचना र संगीत सुसान लामाको, स्वर भिमध्वज मोक्तानको,
एरेञ्ज, मिक्सिङ र मास्टरिङ कार्साङ लामाको,
मेकअप रेशम लामा, नृत्य निर्देशन प्रतीक ङेसुर र
पोष्ट–प्रोडक्सन, नि प्रोडक्सन, स्टुडियो पारजात नेपालमा गरिएको छ।

भिडियोमा अमिर दोङ, अम्बिका तामाङ  र कुङईसाङ रुम्बाको उत्कृष्ट अभिनय देख्न सकिन्छ।
भिडियोले विद्यालय जीवनका रमाइला क्षणहरू, हाँसो र प्रेमका भावनाहरूलाई कलात्मक रूपमा चित्रण गरेको छ।

यो भिडियो भिमध्वज मोक्तानको आधिकारिक YouTube च्यानल “Bhim Dhoj Moktan” मार्फत सार्वजनिक गरिएको हो।
https://youtu.be/ulPRWrHKbt8?si=eG5MpjTTozCr2pQe

काठमाडौं ।
तिब्बती बौद्ध दर्शनका महान् योगी मिलारेपा — जसको जीवन पाप, पश्चात्ताप र मुक्ति बीचको असाधारण साधनाबाट भरिएको छ — अब रंगमञ्चमा पुनर्जीवित हुँदैछन्।
‘मिलारेपा’ नामक यो नाटक भोलिदेखि काठमाडौंको मण्डला नाटकघरमा नियमित रूपमा मञ्चन हुँदैछ।

आईतबार विशेष प्रदर्शन गरिएको नाटक मङ्गलबारदेखि प्रत्येक दिन (सोमबार बाहेक) साँझ ५:३० बजे र शनिबार दिउँसो १ बजे देखाइनेछ। नाटक कार्तिक १८ देखि मंसिर २१ गतेसम्म निरन्तर चल्नेछ।

धर्म र तान्त्रिक दर्शनको गहिरो प्रतिध्वनि

मिलारेपा केवल एक योगी होइनन् — उनी मानव चेतनाको रूपान्तरणका प्रतीक हुन्।
उनको जीवनले देखाएको बाटो — “अहंकारको अन्त्य नै मुक्ति हो” — आजको भौतिकतावादी समाजमा आत्मशुद्धिको अद्भुत सन्देश हो।
नाटकले यही दर्शनलाई संवाद, नृत्य, संगीत र मौनताको संगमबाट जीवित बनाएको छ।

बौद्ध तान्त्रिक परम्परामा मिलारेपा ‘गुरु–शिष्य’ सम्बन्ध र ‘कर्म रूपान्तरण’ का प्रतीक हुन्। उनले साधना र ध्यानमार्फत पापलाई शक्तिमा रूपान्तरण गर्ने गूढ रहस्य देखाएका थिए — जुन आज पनि आत्मपरीक्षण र क्षमाको अभ्यासका रूपमा व्याख्या गरिन्छ।

नाटकले यही आन्तरिक युद्ध — अन्धकार र प्रकाशबीचको संघर्ष —लाई रंगमञ्चमा रूपान्तरण गरेको छ। प्रत्येक दृश्य मानौं ध्यानको क्षण हो; प्रत्येक संवाद आत्मअन्वेषणको निम्तो। हो

नाटकको लेखन चाङ् ङ्योन हेरुकले गरेका हुन्। निर्देशन बुद्धि तामाङ र उमेश तामाङले संयुक्त रूपमा सम्भालेका छन्। संयोजन गुरु कोशिस लोब्साङ वाईबा र नाट्य रुपान्तरण रविन तामाङको योगदान उल्लेखनीय छ।

रुपेश लामाले मिलारेपाको भूमिका सशक्त रूपमा प्रस्तुत गरेका छन्। उनीसँगै रमिला मोक्तान, विकाश लामा, सानु माया तामाङ, रस्मिला तामाङ, रिया लामा, बुजय तामाङ, बलबहादुर राई, निलन कार्की, मणिकुलुङ राई, रोहनी लामा, पुस्कर कार्की, विश्य स्याङ्बो, सबिता थिङ, सुनिता तामाङ दोङ, सुदिप खतिवडा, विजय ट्युबा, रत्न मंगल, टासी लामा, अजय लामा, पवन गोले लगायत कलाकारहरूको अभिनयले नाटकलाई जीवित बनाएको छ।

आदित्य कटुवालको संगीत निर्देशनमा आनि छोइङ डोल्मा, सरेश लामा र शुभलाल ग्लान तामाङका स्वरले नाटकलाई आत्मीय र ध्यानमय बनाएका छन्।
ध्वनि, प्रकाश र गति — तीनै तत्त्वको सन्तुलनले दर्शकलाई तान्त्रिक ध्यानमा प्रवेश गरेको अनुभूति दिन्छ।

आयोजकका अनुसार ‘मिलारेपा’ केवल मनोरञ्जन होइन — यो एक आध्यात्मिक यात्रा हो।
नाटकले क्षमा, साधना र आत्मपरिवर्तनको सन्देशमार्फत दर्शकलाई स्व–चेतना र धर्ममार्गप्रति प्रतिबद्ध बनाउने प्रयास गरेको छ।
कलाका माध्यमबाट प्रस्तुत गरिएको यो दर्शन आधुनिक समाजका लागि आत्मपरीक्षणको दर्पण बन्न सक्ने विश्वास गरिएको छ।

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री समेत रहेका कुलमान घिसिङले पुनः आफ्नो दृढ र इमानदार स्वभाव देखाएका छन्। उनले स्पष्ट चेतावनी दिएका छन् —
“प्रधानमन्त्रीको पावर लगाएर पनि बक्यौता नतिर्ने उद्योगमा लाइन जोड्न सक्दिन, बरु मन्त्रीपद छोड्छु।”

घिसिङले हालै बक्यौता तिर्न नमान्ने केही ठूला उद्योगहरूको विद्युत् आपूर्ति काटेपछि प्रधानमन्त्रीको तर्फबाट राजनीतिक दबाब आएको बताइएको छ। तर उनले कानुन र नीतिको पालना नगर्ने कसैलाई पनि छुट नदिने अडान लिएका छन्।

“विद्युत् प्राधिकरणको नीति सबैका लागि समान हो,” उनले भने, “ठूला उद्योग होस् वा सानो उपभोक्ता — बक्यौता तिरेन भने बिजुली पाउँदैन।”

कुलमानको लोकप्रियता र स्वच्छ छवि

नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशकका रूपमा कुलमान घिसिङ लोडसेडिङ अन्त्य गर्ने ऐतिहासिक योगदानका लागि जनतामाझ अत्यन्त लोकप्रिय छन्। अहिले मन्त्रीको जिम्मेवारी सम्हाल्दा पनि उनले आफ्नो कार्यशैली र अनुशासनमा कुनै सम्झौता नगर्ने देखाएका छन्।

कुलमानको यो कठोर अडानले राजनीतिक हस्तक्षेपविरुद्धको दृढता झल्काउँछ। यद्यपि, यस्तो सिधा अस्वीकारले प्रधानमन्त्री र मन्त्रीबीचको सम्बन्धमा तनाब बढ्न सक्ने अनुमान गरिएको छ।
विश्लेषकहरूका अनुसार घिसिङले कानूनको शासन र पारदर्शिता कायम गर्न खोजे पनि राजनीतिक शक्ति र स्वार्थबीच उनको इमानदारिता परिक्षणमा पर्नेछ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)भित्र माओवादी केन्द्रसँग एकता गर्ने निर्णयपछि असन्तुष्टि व्यक्त गर्दै आएको झलनाथ खनाल र घनश्याम भुसाल पक्षले पार्टी पुनर्गठनका लागि राष्ट्रिय भेला गर्ने तयारी गरेको छ।

भेला निकट भविष्यमै काठमाडौंमा आयोजना गर्ने तयारी भइरहेको बताइन्छ। उक्त भेलामा देशभरका असन्तुष्ट कार्यकर्ता र नेताहरूलाई समेट्दै नयाँ नेतृत्व र संगठनात्मक ढाँचा तय गर्ने एजेन्डा तय गरिएको स्रोतले जानकारी दिएको छ।

अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा माओवादीसँग एकता प्रक्रियामा अघि बढ्ने निर्णय भएपछि खनाल–भुसाल समूहले “यो निर्णय विचारधारात्मक विचलन र आत्मसमर्पण” भन्दै आपत्ति जनाउँदै आएका छन्।
समूहका निकट नेताहरूका अनुसार, भेला “समाजवादी आन्दोलनलाई नयाँ बाटोमा लैजाने” उद्देश्यले आयोजना गर्न लागिएको हो। भेलामा वैकल्पिक राजनीतिक मोर्चा वा नयाँ संगठनको नाम समेत सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ।

झलनाथ–घनश्याम पक्षको यो सक्रियता एकीकृत समाजवादी पार्टीभित्रको विभाजन स्थायी दिशातर्फ अघि बढिरहेको संकेत हो। यदि उनीहरूले वैकल्पिक संगठन गठन गरे भने, वाम राजनीति पुनः खण्डित हुने सम्भावना बलियो हुनेछ।
माओवादीसँगको एकताबाट सशक्त वाम एकता सम्भव हुने तर्क गर्ने माधवकुमार नेपालको रणनीति यस कदमपछि थप चुनौतीमा पर्ने देखिन्छ।
यता, असन्तुष्ट पक्षले भने “सिद्धान्त र पहिचानमा सम्झौता गर्न नसक्ने” भन्दै दीर्घकालीन राजनीतिक अभियानको संकेत दिएका छन्।

मिङमा योञ्जन ।
धुलिखेल काभ्रे -पर्यटन तथा सांस्कृतिक सहर धुलिखेलमा यही कात्तिक २० गतेदेखि मंसिर ३ गतेसम्म भव्य धुलिखेल महोत्सव–२०८२ हुने भएको छ। महोत्सव धुलिखेल नगरपालिका–७, अड्डा बजारस्थित धुलिखेल रंगशालामा आयोजना हुनेछ।

महोत्सवको आयोजक धुलिखेल, काभ्रे आकाश भैरव क्लब रहेको छ भने संरक्षक धुलिखेल नगरपालिका र व्यवस्थापक लालिगुरास क्रियसन मिडिया नेपाल रहेका छन्।

आयोजक समितिका अनुसार महोत्सवको उद्देश्य धुलिखेलको सांस्कृतिक पहिचान, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तार गर्नु हो। कार्यक्रममा स्थानीय व्यवसाय, कृषि उत्पादन, हस्तकला, घरेलु परिकार र सांगीतिक प्रस्तुतिहरू रहने छन्।

महोत्सव अवधिभर चर्चित कलाकारहरूको प्रस्तुति, खेलकुद प्रतियोगिता, फोटो प्रदर्शनी नृत्य प्रतियोगिता र बालबालिकामुखी कार्यक्रमहरू पनि सञ्चालन गरिने तयारी छ।
यस वर्ष महोत्सव “पर्यटन, व्यापार र संस्कृति : हाम्रो पहिचान, हाम्रो गौरव” भन्ने नारासहित आयोजना हुने भएको हो।

धुलिखेल काभ्रेको प्रमुख पर्यटन प्रवेशद्वारका रूपमा चिनिन्छ। यहाँ आयोजना हुने यस्तो सांस्कृतिक र व्यापारिक महोत्सवले स्थानीय होटल, यातायात, कृषि उत्पादन र साना व्यापारीहरूलाई प्रत्यक्ष लाभ पुर्‍याउने अपेक्षा गरिएको छ।

गत वर्षको महोत्सवमा करिब ५० हजारभन्दा बढी आगन्तुक सहभागी भएका थिए, जसले धुलिखेल र वरपरका बजारमा आर्थिक चलायमानता ल्याएको थियो।
यो वर्ष मौसम र व्यवस्थापन अनुकूल रहेमा आगन्तुक संख्या अझ बढ्ने अनुमान गरिएको छ।

साथै, महोत्सवले स्थानीय युवा उद्यमीहरू र कलाकारहरूलाई आफ्नो सीप र उत्पादन प्रदर्शन गर्ने अवसर प्रदान गर्नेछ, जसले दीर्घकालीन रूपमा स्थानीय अर्थतन्त्र सुदृढ गर्न योगदान पुर्‍याउने विश्लेषकहरूको मत छ।

काठमण्डौ, नेपाल तेक्वान्डो संघ केन्द्रीय समितिद्वरा आयोजित तेक्वान्डो मास्टर लेवल चौथो , पाचौ तथा छैटौँ डान ब्लक बेल्ट परिक्षा सम्पन्न भएका छन । परिक्षा कार्तिक १४ र १५ गते सातदोबाटो स्थित तेक्वान्दो केन्द्रिय कार्यलयमा आयोजना गरेका थिए ।उक्त परिक्षामा रामेछाप सुनापति गाउपलिका भल्वाडी निवासी सुजन तामाङले चौथो डान ब्लक बेल्ट परिक्षा उत्तीर्ण गरेका छन। सुजन तामाङ बिगत लामो समय देखि बिभिन्न मार्शल आर्ट खेलमा आबद्द हुदै आएको छ।

सुजन तामाङ तेक्वान्दोको खेलाडी मात्रै होईन, उनी किकबक्सिङका पुर्व राष्ट्रिय च्याम्पियन तथा राष्ट्रिय रेफ्री पनि हुन।  साथै मोईथाई खेल को रेड अर्म ब्यन्द  तथा `सि´लेवल कोचिङ लाइसेन्स पनि लिएको छ। उनि यसअगाडी साउदिअरब को दमाम सहर को पावर जिममा मोईथाई तथा  किकबक्सिङ खेलका प्रोफेस्नल कोच पनि भएको थिए। हाल उनि भक्तपुर जिल्ला किकबक्सिङ र  द फिट ल्यब मोईथाई जिममा प्रमुख प्रशिक्षक भएर प्रशिक्षण सन्चालन गराउदै आएको छ।

काठमाडौं । सूचक प्रकाशनले आफ्नो स्थापनाको १६औं बार्षिकोत्सव भव्यताको साथ मनाएको छ ।
शिक्षासेवी केदारनाथ श्रेष्ठले अध्यक्षता गरेको कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लोमश वाङ्मय प्रतिष्ठानका सचिव नवीन पल्लवले गरेका थिए ।
उक्त कार्यक्रमको अवसरमा सूचक प्रकाशनले बिभिन्न १ दर्जन बिधाका स्रष्टाहरुलाई पुरस्कृत समेत गरेको थियो । जसमा लोमश वाङ्मय प्रतिष्ठानका सल्लाहकार रूबि सत्याल,आजीवन सदस्य विमल अर्याल,इन्दिरा सापकोटा, मोहम्मद जाकिर हुसेन, शैक्षिक अभियन्ता लालबहादुर चौधरी, कबा साप्ताहिकका संस्थापक सम्पादक तथा प्रकाशक निबन्ध आचार्य, समाजसेवी अनिल कुमार महर्जन, ऋषभदेव घिमिरे, विमला अधिकारी, मणिराज सिंह, बौद्ध साहित्यकार लोचनतारा तुलाधर साथै बौद्ध लेखक प्रा।डा। त्रिरत्न मानन्धर रहेका छन् ।
समारोहका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति तथा वरिष्ठ कवि डा. विष्णुविभु घिमिरेले पठन संस्कार खिइँदै गएकामा दुःख व्यक्त गर्दै आज सम्मानित व्यक्तित्वहरू अत्यन्त अनुकरणीय भएकाले समारोहमा आफैँ सम्मानित भएको अनुभूति भएको बताए । घिमिरेले व्यक्ति व्यक्तिमा त अहङ्कार छँदै थियो अहिले त राज्यमा पनि अहङ्कार देखियो भन्दै हामी मान्छे भएर बाँच्नुपर्ने ज्ञानको खाँचो औँल्याए । अब आध्यात्मिक चेतनाको खाँचो भएको त होइन ? भन्ने प्रश्न तेस्र्याए । अहिले सूचकले गरेका कर्म अत्यन्त अनुकरणीय भएको दाबी गर्दै सबैको साथ र समर्थन सूचकलाई रहोस् भन्ने कामना गरे । भगवान्लाई सम्झेर जीवन बोध गरियो भने आजका अधिकांश समस्या छुमन्तर हुने जिकिर गरे । लेखक र समाजसेवीलाई उत्प्रेरित गर्ने सूचकलाई धन्यवाद ज्ञापन गर्दै समाजसेवी केदारनाथ र लीलादेवीप्रति आफू नतमस्तक रहेको घिमिरेले खुलासा गरे ।
समारोहका विशेष अतिथि वरिष्ठ साहित्यकार जलेश्वरी श्रेष्ठले आफूलाई सम्मानित गरेकोमा सूचकको सराहना गर्दै बौद्ध दर्शन, साहित्य र समग्र नेपाली साहित्यलाई एउटै कडीमा जोड्ने एकमात्र संस्था सूचक भएकाले यसको उन्नयन र समुत्थानका निम्ति सबैलाई आग्रह गरिन् । उनले अध्यक्ष दीपक भेटुवालको मुक्तकण्ठले प्रशंसा गरिन् ।
सम्मान समारोहमा उपस्थितजनहरूलाई सङ्क्षिप्त तथा न्यानो स्वागत गर्दै बौद्ध दर्शनका अध्येता श्यामलाल चित्रकारले आफू छैठौँ सङ्घनायक भिक्षु अश्वघोष महास्थबिरबाट विशेष प्रभावित र प्रशिक्षित भएको बताए ।
समारोहलाई सम्बोधन गर्दै स्रष्टा पदयात्राका महासचिव,अधिवक्ता तथा साहित्यकार गङ्गाप्रसाद भेटवालले दुई दशकसम्म अनवरत रूपमा सूचकले गरेको निस्स्वार्थ कर्मको सराहना गर्दै अबको प्रज्ञाप्रतिष्ठान यस्तै व्यक्तित्वहरूको हातमा हुनुपर्छ भन्ने राय प्रकट गरे । भेटवालले नेपाली साहित्य क्षेत्रले आरोहण गर्दै गरेको सोपानबारे पनि सङ्क्षिप्त चर्चा समेत गरे ।
सूचक प्रकाशनका अध्यक्ष दीपक भेटुवालले सूचक प्रकाशनले डेढ दर्जन वर्षसम्म गरेका सङ्घर्षका आरोह अवरोहदेखि छिचोलेका चुनौतीसम्मको सङ्क्षिप्त चर्चा गर्दै सम्मानित, पुरस्कृत र शिखर अभिनन्दित गर्नु सूचकको परम्परा नै बनिसकेको बताए । उनले आगामी दिनमा पुरस्कार राशिमा वृद्धि गर्ने प्रतिबद्धता समेत जनाए ।
सम्मानित व्यक्तित्वहरूको तर्फबाट बौद्ध दर्शनका अध्येता उप-प्राध्यापक डा. त्रिरत्न मानन्धरका साथै अभिनव साहित्य प्रतिष्ठानका उपाध्यक्ष, लोमश वाङ्मय प्रतिष्ठानका आजीवन सदस्य तथा साहित्यकार विमल अर्यालले सम्मानित भइसकेपछिका आफ्ना उद्वेलन तथा अनुभूति अभिव्यक्त गरेका थिए ।

काठमाडौं । नारायणी कम्पलेस कालिमाटीमा स्पार्कल ब्यूटी एण्ड एकेडेमी सञ्चालनमा आएको छ ।

वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले शनिबार एक कार्यक्रमका बीच स्पार्कल ब्यूटी एण्ड एकेडेमी उद्घाटन गरेकी हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै फेसियल हाउसकी प्रबन्ध निर्देशक महराले लामो समयदेखि फेसियल हाउसमा कार्यरत रोजी साहले गरेको प्रगति देखेर मनै देखि खुशी महशुस भएको बताइन् । शुभकामना ब्यक्त समेत गरिन ।

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालिका साहले फेसियल हाउसमा लामो समयदेखि काम गदै आज आफै एकेडेमी चलाउन सक्ने भएको भन्दै फेसियल हाउसप्रति आभार प्रकट गरिन ।

स्पार्कल ब्यूटी एण्ड एकेडेमीमा ब्यूटी सम्बन्धि सम्पूर्ण काम गुणस्तरीय सीप लिन चाहनेका लागि तालिमसमेत सुपथ मूूल्यमा लिन सकिने पनि सञ्चालिका साहले बताइन् ।

भोजपुर- १५ कात्तिक । भोजपुरको षडानन्द नगरपालिका–४ मा आज बिहान काठ बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।

चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

दुर्घटनामा परेर षडानन्द नगरपालिका–४ केराबारीका २५ वर्षे चालक आइतबहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बीका १७ वर्षे नविन तामाङको घटनास्थलमै मृत्यु भएको भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।

त्यसैगरी दुर्घटनामा घाइते हुनेमा दाछिरि शेर्पा (१९), अम्बर तामाङ (२३), सागर तामाङ (१८) र सुनिता तामाङ (१८) रहेका छन् । उनीहरूको दिङ्ला नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भोजपुरलगायत पूर्वी पहाडी जिल्लामा काठ, बालुवा र निर्माण सामग्री बोक्ने ट्याक्टर दुर्घटनाको घटना पछिल्ला वर्षहरूमा बढ्दै गएका छन् । कमजोर सडक, ओभरलोड र सुरक्षा मापदण्डको अभाव यस्तो दुर्घटनाको प्रमुख कारण मानिन्छ । स्थानीय प्रशासनले कडाइ गरे पनि अनुगमन र चालक प्रशिक्षणमा अझ ध्यान दिन आवश्यक देखिन्छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।